एसीसी प्रिमियर कपमा नेपाल समूह विजेता
१४ वैशाख, काठमाडौं । समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध ६८ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपाल यो जितसँगै समूह विजेता बन्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा कतार २५.१ ओभरमा ८९ रनमै समेटियो ।
जितसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणमा अपराजित रहेको नेपालले चार खेलबाट सात अंक जोड्यो ।
यसअघि, नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियासँगको तेस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।
चार खेल खेलेको कतारले भने अंकविहीन रहँदै प्रतियोगिताको अन्त्य गर्यो । कतार पहिलो खेलमा ओमानसँग ४० रनले, दोस्रो खेलमा साउदी अरेबियासँग सात विकेटले र तेस्रो खेलमा मलेसियासँग तीन विकेटले पराजित भएको थियो ।
नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा कतारका जहिर इब्राहिम र खुरम सहजादले समान १५ रन जोडे । अमिर फारुकले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । कतारलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने पाँच विकेट लिए । ९.१ ओभर बलिङ गरेका सन्दीपले तीन मेडन राख्दै १४ रनमात्र खर्चिए ।
सोमपाल कामीले तीन विकेट लिए । ललितनारायण राजवंशीले दुई विकेट हात पारे ।
त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो । नेपालका सन्दीप लामिछानेले अविजित ४२ रन बनाउनु नै कतारविरुद्ध नेपाली टिमका लागि व्यक्तिगत उच्च स्कोर बन्यो । १०औं नम्बरमा ब्याटिङका लागि आएका सन्दीपले ललित राजवंशीसँग ४६ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोरसम्म पुगेको थियो । ललितले एक रन थपे ।
यसबाहेक, नेपाली टिमको खातामा कप्तान रोहितकुमार पौडेलले २७ र ओपनर आसिफ शेखले १९ रन थपे । दीपेन्द्रसिंह ऐरीले १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११ रन जोडे ।
कतारका अमिर फारुकले चार विकेट लिए । ९.३ ओभर बलिङ गरेका फारुकले ४२ रन खर्चिए । ओवाइस अहमेद तीन विकेट लिए । जयान मुनाविराले दुई विकेट लिँदा इक्रामुल्लाह खानले एक विकेट लिए ।
यसैवर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कूल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।






