बसन्तबहादुर कुँवर बने नयाँ प्रहरी महानिरीक्षक
१० चैत । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
अवकाश पाएका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आज (चैत १०) सम्म रहेको थियो । सिंहको आज नै प्रहरी प्रधान कार्यालयमा बिदाइ गर्ने कार्यक्रम छ । मन्त्रिपरिषदले प्रहरीको ३० औं आईजीपीको रुपमा कुँवरको बढुवा गरेको हो । उनले आफ्ना प्रतिस्पर्धी चार एआईजीलाई पछि पारेका छन् ।
दुई साताअघि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कुँवरसहित ५ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो भने गत बुधबार मात्र मन्त्रिपरिषदले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको थियो । एआईजीमा बढुवा भएको दुई दिनमा नै कुँवर आईजीपी बनेका हुन् ।
कुँवर २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । डीआईजी रहँदा मधेस प्रदेश प्रमुख रहेका उनले प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए । पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो।
आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्। कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्।
त्यस्तै, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत प्रमुख भएर उनले सफल कार्यकाल पूरा गरेका थिए । एसपी रहँदा नुवाकोट लगायत विभिन्न जिल्लामा रहेर उनले काम गरेका थिए । कमाण्ड कन्ट्रोलमा अब्बल र व्यावसायिक प्रहरी अधिकारीको रुपमा कुँवर परिचित छन् ।
आईजीपीको दाबेदारका अन्य एआईजीमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । कुँवर डीआईजी र एआईजीमा पहिलो वरियतामा बढुवा भएका थिए ।
अवकाश पाएका सिंहलाई गएको १८ वैशाखमा बढुवा गरिएको थियो । उनीसँगै एकै ब्याचका तीन एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएका छन् ।






