को बन्लान् नेपाल प्रहरीको नयाँ आईजीपी ?
फागुन २८,काठमाडौं । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् ।
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने चर्चा पनि छ । तर, अहिलेकै अवस्था कायम रहे आईजीपी सिंहको कार्यकाल दुई सातामा सकिनेछ ।
यस्तोमा नयाँ आईजीपी को बन्लान् भन्ने चर्चा सुरु भएको छ । नयाँ आईजीपीको दौडमा प्रस्तावित पाँच एआईजी देखिएका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गएको शुक्रबार पाँच डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । सो सिफारिसका विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनीहरूको बढुवा कार्यान्वयन हुन्छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । त्यसपछि क्रमशः डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम छ ।
तर, एआईजीमा सिफारिस गर्दा आईजीपीकै ब्याची डीआईजी नपरेपछि उनीहरू असन्तुष्ट बनेका छन् । हाल प्रस्तावित सबै एआईजीहरू आईजीपीका जुनियर ब्याची हुन् ।
प्रस्तावित एआईजी ज्ञवालीको उमेर विवाद छ । उनले २५ वर्ष कटिसकेपछि सेवा प्रवेश गरेको खुलेको थियो । उनका कागजातबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरिसकेको छ ।
सरकारले एआईजीमध्येबाट जो कोहीलाई पनि आईजीपी नियुक्त गर्न सक्छ । एआईजीमा सिफारिस भएसँगै सबैले आईजीपीको दौडधुप सुरु गरेका छन् । विभिन्न शक्तिकेन्द्रमा धाएर आफूलाई आईजीपी बनाउन उनीहरूले ‘लबिङ’ गरिरहेका हुन् ।
पहिलो नम्बरमा सिफारिस भएकाले भावी आईजीपीमा कुँवरको सम्भावना बलियो देखिन्छ । उनीबाहेक विभिन्न शक्तिकेन्द्रले दीपक थापालाई पनि आईजीपी बनाउन खोजेको बताइन्छ ।
आईजीपीको दौडमा एक मात्र महिला किरण बज्राचार्य छन् । हालसम्म प्रहरी नेतृत्वमा महिला अधिकारी पुगेका छैनन् । उनी आईजीपी नियुक्त भए प्रहरीमा नयाँ इतिहास बन्नेछ । नयाँ आईजीपीका लागि कुँवर र थापाको नाम बढी चर्चामा छ ।






