एमाले टोलीले राख्यो माधव नेपालसँग एकता प्रस्ताव

   १८ फाल्गुन २०७९, बिहीबार १३:२६  

फागुन १८, काठमाडौं । नेकपा (एमाले)का नेताहरूको समूहले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकताको प्रस्ताव राखेको छ । बिहीबार काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुगेका एमाले नेताहरूले पार्टी एकताको प्रस्ताव गरेका हुन् ।

आसन्न राष्ट्रपति पदको निर्वाचनमा उमेदवार बनेका नेता सुवास नेम्वाङका लागि भोट माग्न उनीहरू त्यहाँ पुगेका थिए ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, प्रकाश ज्वालासहितका नेताहरूसँग उनीहरूको छलफल भएको थियो ।

एकताका लागि अब निरन्तर छलफल गर्ने समझदारी भएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

“हामी नेकपा (एमाले)ले राष्ट्रपति उमेदवार बनाएका उपाध्यक्ष सुवास नेम्वाङलाई भोट माग्न नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा आइपुगेका छौँ । कुराकानी सकारात्मक भएको छ,” गुरुङले भने, “हामीबीच पार्टी एकताका लागि यो सुवर्ण अवसर हो । हामी अब निरन्तर भेटवार्ता गरेर एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउने समझदारी भएको छ ।”

छलफलका क्रममा नेम्वाङले आफूलाई मतदान गर्न आग्रह गरेका थिए । भेटवार्तामा एमालेका तर्फबाट नेम्वाङसँगै नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र नेत्री विमला राई पौड्याल सहभागी थिए ।