नेकपा एमालेले सरकार छाड्ने
१५ फागुन, काठमाडौं । नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।
पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज पुनः उठेको छ ।






