स्रोत नखुलेको नगदसहित एक भारतीय महिला पक्राउ
१४ फागुन, सप्तरी । स्रोत नखुलेको रकमसहित सप्तरीबाट एक भारतीय महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारतको सुपौल बिहारकी ३१ वर्षीया अस्मिता कुमारी साह रहेकी प्रहरीले जनाएको छ ।
सवारी चेकजाँच् गर्ने क्रममा शनिबार बेलुका ती महिलालाई तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ भन्सार कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलाको साथबाट ६ लाख ८३ हजार ३ सय नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ गरी ७ लाख ६३ हजार ३ सय रुपैयाँ बरामद भएको हो ।
निजको साथबाट बरामद भएको रुपैयाँको स्रोत नखुलेको कारण उनलाई हिरासतमा लिएको छ । पक्राउ परेकी उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






