श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

   १२ फाल्गुन २०७९, शुक्रबार १३:२६  

१२ फागुन, उदयपुर । श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

खुकुरी प्रहार गरी आफ्नै श्रीमती हत्या गरेको अभियोगमा जिल्लाको वेलका नगरपालिकाबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार २० वर्षीया युनिशा खत्री (पौडेल)माथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान् वेलका नगरपालिका ९ भचुवाका २७ वर्षीय विनोद पौडेललाई पक्राउ गरिएको छ ।

सामुदायिक बनमा घाँस काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको भन्ने सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो नै हिरासतमा लिएको थियो ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।