पुल निर्माणको माँग राख्दै आमरण अनशन
२ फागुन, रौतहट । शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै रौतहटका एक संचारकर्मी आमरण अनशनमा बसेका छन ।
रौतहटको गौर ४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिदा स्थानीयले पीडा खेप्नु परेको भन्दै संचारकर्मी संजय सहनी सोमवार साँझ देखी आमरण अनसनमा बसेका छन ।

२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घाट स्थित लाल बकैया नदीमा शिलान्यास गरेको पक्की पुलको निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले पाएको थियो । २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुल शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि ५० प्रतिशत भन्दा बढी काम सम्पन्न हुन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गएिको थियो ।
पप्पु कन्सन्ट्रक्सनले काम नगरेपछि सडक डिभिजन कार्यालयले सो ठेक्का रद्द गरेको थियो । रद्द गरेको ठेक्कामा फेरी काम गराउन सडक विभागले अर्को टेन्डर आव्हान गर्न सकेको छैन । गौर र ईशनाथ नगरपालिकालाई जोडने उक्त पुल निर्माण नहुदा दुवै पालिकाका स्थानियले सास्ती खेप्नु परेको छ । खासगरी वर्षामा डुङ्गाको सहारामा नदी वारपार गर्दा अत्याधिक जोखीम हुने गरेको छ ।
समयमै पुल नबन्दा २०७५ सालको भदौं ९ गते शनिवार साँझ ७ बजेको समयमा इशनाथ नगरपालिकाको औरैया क्षेत्रबाट गौरको टिकुलिया तर्फ आउदै गरेको डुङ्गा पुलको निर्माणाधिन पिल्लरमा ठोक्कीदा टिकुलियाका ५ जनाको ज्यान गएको थियो ।
पुल निर्माणका लागी दबाब दिन र तत्काल काम शुरु गराउने माँग सहित आफु अनसनमा बसेको सहनीले बताए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका स–सचिव समेत रहेका सहनीले अलपत्र परेको पुल निर्माणका लागी स्थानिय देखी केन्द्रीय नेताहरुको समेत ध्यानकर्षण गराउन खोजेको बताए । आफु पनि लालबकैया नदी किनारकै बासिन्दा भएकोले पुल नभएका कारण प्रत्येक वर्ष नदीको जोखिम भोग्नु परेको उनले बताए ।
“८ वर्ष सम्म पनि पुल अलपत्रमा रहदा नेताहरुले अनुगमन बाहेक अरु केही काम गरेनन । अनुगमन र सान्त्वना भन्दा पनि निर्माण सम्पन्न गराउन सरकारले तत्काल पहल गर्नु पर्छ ।” अनशनमा बसेका सहनीले भने “पुल निर्माणको एक मात्र माँग राखेको छु । पुरा नभए सम्म यही नदीकै बगरमा अनसनमा रहनेछु ।”






