अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ
२५ माघ, रौतहट । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका ३ ठेगाना भएको २९ वर्षीय मधुकर (सेठ) साह रहेको प्रहरीले जनाएको छ । विमानस्थलबाट मंगलबार दिउँसो भारतीय रुपैयाँ ५ सयको दरले ४ सय ५६ थान नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो ।
यस्तै, विमानस्थलबाट अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई पनि पक्राउ गरेको छ । वाङचुकलाई पनि २ लाख २८ हजार रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो नै पक्राउ गरिएको थियो ।
काठमाडौँबाट दिल्ली जानको लागि विमानस्थलमा आएका अमेरिकी नागरिकको ब्यागेज चेकजाँच गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।






