भन्सार छलेर ल्याएको सामानसहित दुई जना पक्राउ

   ८ माघ २०७९, आईतवार ११:४५  

८ माघ, रौतहट । भन्सार छलेर ल्याएको सामानसहित रौतहटबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय कुन्दन चौधरी र २५ वर्षीय बिजय कुमार यादव रहेको प्रहरीले जनाएको छ । भन्सार छलेर भारतबाट नेपालतर्फ सामान ल्याइरहेको अवस्थामा उनीहरुलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

सवारी चेक जाँच गर्ने क्रममा रौतहट परोहा नगरपालिका वडा नम्बर ८ मोतिपुर स्थित हनुमान चौकबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा 05AU-3728  नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेक गर्दा गाडीहरुमा लगाउने सामान लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको थियो ।

दुवै जनाको साथबाट बरामद भएको सामानको मूल्य करिब २ लाख ९ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बरामद भएको सामानलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।