गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना उपचाररत

   ८ माघ २०७९, आईतवार १०:५७  

८ माघ, सुर्खेत । ५ जना सवार भएको गाडी सुर्खेतमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने १ जना घाइते भएका छन् ।

छिन्चुबाट वीरेन्द्रनगर जादैँ गरेको बा.प्र.०१०२६च ९२१३ नम्बरको क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान वीरेन्द्रनगर ११ झुप्राखोलास्थित रत्नराजमार्गमा गाडी सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेर गाडी चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका ३ घर भएको ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चारै जनालाई तत्कालै घटनास्थलबाट उद्धार गरि उपचारका लागि अस्पताल ल्याएपनि तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, एक जनाको उपचारकै क्रममा मृत्यु भएको हो, भने दैलेख भैरवी गाउँपालिका वडा नम्बर ५ बस्ने वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

दुर्घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।