भतिजाको हत्या आरोपमा काका पक्राउ

   ६ माघ २०७९, शुक्रबार १७:३५  

६ माघ, रौतहट । रौतहटको माधवनारायण नगरपालिकाको बाग्मती नदीमा फेला परेको ९ वर्षिय बालकको शव हत्या पछि फालिएको पुष्टी भएको छ ।

पौष १ गते माधवनारायण नगरपालिका ८ को बाग्मती नदीमा मृत अवश्था मा फेला परेका पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या उनकै काकाले गरेको प्रहरीले जनाएको छ । जग्गा सम्बन्धी पुरानो रिसवी र सधैको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको प्रहरीले जनाएको छ ।

मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पौष १ गते माधवनारायण नगरपालिका ८ मा रहेको बाग्मती नदीबाट बरामद भएको थियो । २५ गते घर बाहिर खेलीरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी संजय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगी कपडाले हातखुट्टा बाधेर हत्या गरेका थिए ।

“हत्या गरेको दिन उनीहरुले बालकको शवलाई सोही छाप्रोमा लुकाए । दोश्रो दिन राति घर भन्दा १ मिलोमिटर टाढा रहेको परालको थुप्रोमा लुकाए ।” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरिक्षक वीर बहादुर बुढामगरले भने “कसैलाई शंका नहोस भनेर काका जयराम परिवारजनसंगै खोजतलाश गर्न पनि गए । उनीहरुले २९ गते राति लाशलाई बोरामा हालेर बाग्मती नदीमा फालेको अनुसन्धानले देखायो ।”

उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारवाही अगाडी बढाएको प्रहरी उपरिक्षक बुढामगरले बताए ।