स्रोत नखुलेको २२ लाख रुपैयाँसहित पर्साबाट दुई जना पक्राउ
४ माघ, पर्सा । हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।
जिल्लाको वीरगञ्ज महानगरपालिका १६ नगवाका ३४ वर्षीय विकास साह र वडा नम्बर १८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुवास कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार वीरगन्ज महानगरपालिका ८ घण्टाघरस्थित सवारी चेक जाँच गर्ने क्रममा भारतीय नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेक गर्दा स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले बताएका छन् ।
उनीहरुको खानतलासी गर्दा स्कुटरको पछाडि सवार सुवासले बोकेको झोलाबाट स्रोत नखुलेको २२ लाख नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट बरामद भएको २२ लाख रुपैयाँको स्रोत नखुलेको कारण दुवै जनालाई हिरासतमा लिई यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






