कपडा पसलमा आगलागी हुँदा लाखौँ क्षति

   २३ पुष २०७९, शनिबार १३:४६  

२३ पुस, कैलाली । कैलालीको धनगढीस्थित एउटा कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

धनगढी उपमहानगरपालिका १९ को पच्चीस घर बजारमा सञ्चालन गरेको स्थानीय लक्ष्मण चौधरीको कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आज बिहान २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पसलमा आगलागी हुँदा २ वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान समेत जलेर नष्ट भएको छ ।

प्रहरीको टोली, दमकल र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो । आगलागीबाट करिब ६० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

हाल आगलागीको कारण खुल्लन नसकेको प्रहरीले जनाएको छ ।