कठ्यांग्रिदो हावाले प्रभावित मुसहर बस्ति
१४ पुस, रौतहट । अत्याधिक चिसोका कारण मुसहरहरुको जनजीवन कष्टकर बनेको छ ।
बुधबारदेखि चिसो हावा चलेर घाम समेत नलाग्दा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरियामा रहेको करिब ९५ घर मुसहरहरुको जनजीवन कष्टकर बनेको छ ।
बुधबार बिहान रौतहटको तापक्रम ८ डिग्री सेल्सियसमा झरेको तथा कठ्यांग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसानहरु प्रभावित बनेका छन् । डुमरियामा रहेका मुसहरहरुलाई ओछ्याउन बिस्तारा नभएकोले उनीहरु भुईमै पराल ओछ्यएर सुत्न बाध्य समेत भएका छन् ।
मजदुरी नगरे छाक टार्न समेत गाह्रो भएपनि हिजो देखि बढेको चिसोले गर्दा मुसहरहरु ज्याला मजदुरीमा समेत जान सकेका छैनन् ।
यस्तै, सरकारले जनता अवास कार्यक्रम अन्र्तगत पक्की घर नामको लागि बनाएपनि कुनै काम नलाग्ने भएको बताएका छन् ।
पक्की घर गुणस्तरहिन भएकोले चैत-बैशाखमा हावा हुरीले सताउने, बर्षाको पानी घर भित्र छिर्ने तथा चिसो भएको बेला जस्तापाताबाट शित, हुस्सु झरेर सुत्नै नसक्ने अवस्था भएको मुसहर बस्तीमा रहेका रामदेव माझीको गुनासो छ ।






