रौतहटमा आज यो वर्षकै सबैभन्दा बढी चिसो
१३ पुस, रौतहट । रौतहटको न्यूनतम तापक्रम आज यो वर्षकै कम देखिएको छ ।
आज बिहान ७ बजेको मापन अनुसार जिल्लाको तापक्रम ८ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम १०/११ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो ।
रौतहटमा आज बिहानैदेखि चिसो हावा चलेर घाम समेत नलाग्दा जिल्लावासीले अत्याधिक चिसो महशुस गरिरहेका छन् । कठ्यांग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।
बिहानबाट चलेको चिसो सिरेटको कारण वृद्ध तथा दीर्घ रोगीहरु पीडित बनेका छन । रौतहटको आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सीयस र न्यूनतम तापक्रम ८ डिग्री सेल्सीयस रहेको छ ।
अत्याधिक चिसोका कारण विद्यालय जानुपर्ने विद्यार्थी समेत प्रभावित भएका छन । शरीरमा लगाउने न्यानो कपडा र ओढनओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अतिपिछडिएको वर्ग चिसोमा कठ्यांग्रिएरै बस्न बाध्य भइरहेका छन् ।
चिकित्सकले यो चिसोमा बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई गाह्रो पर्ने भएकाले उनीहरुको विशेष ख्याल गर्न र झोलिलो तथा ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।






