एक महिनमा चार वटा ट्रान्सफर्मर चोरी

   २६ मंसिर २०७९, सोमबार १६:२३  

मंसिर २६, रौतहट । पछिल्लो पटक रौतहटमा विद्युतका ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएको छ ।

रौतहटका अलग अलग ठाँउमा एक महिना भित्रमा चारवटा विजुलिका ट्रान्सफर्मर चोरी भएको छ । गए राति गरुडा नगरपालिकाको वडा नं. १ जयनगरमा विद्युत पोलमा रहेको ट्रान्सफर्मर चोरहरुले फुटाएर लगेका छन । यस अघि २२ मंसिरमा फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत विजयपुर सन्तपुर जाने कालोपत्रे सडक छेउमा सिंचाइ प्रयोजनको लागि रहेको १ सय एम्पीयरको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो ।

विद्युत ट्रान्सफर्मर चोरिए पछि फतुवा विजयपुरमा भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल सेवा बन्द भएको छ ।

यसअघि कटहरिया नगरपालिकामा पनि ट्रान्सफर्मर चोरी भएको थियो । कटहरीया ४ बलुवा कटहरिया जाने बाटोमा डिप ट्युबवेल नजिक रहेको १ सय एम्पीयरको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो ।

त्यसैगरी बौधिमाई नगरपालिका ४ को दुर्गा मन्दिर छेउमा रहेको १ सय एम्पिएरको विद्युत ट्रान्सफर्मर तिन साता अघि चोरी भएको थियो । नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख संजिवकुमार दासका अनुसार १ सय एम्पिएरको एउटा ट्रान्सर्फमरको बजार मूल्य ४ लाख रूपैयां पर्छ ।

चोरहरुले विद्युतको तारमाथि फलामका बस्तु फालेर ट्रान्सर्फमरको फ्युज निष्क्रिय बनाएर चोरी गर्ने गरेका छन । ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाएल तार बिक्री गर्ने उदेश्यले चोरहरुको गिरोहले ट्रान्सफर्मरहरु चोरेको प्राधिकरण प्रमुख दासले बताएका छन ।