दुई दिनमै ३४ संक्रमित, रौतहटमा समुदायमा कसरी पुग्यो कोरोना ?
२६ साउन, रौतहट । छिमेकि देशहरुसँगै विश्वका अधिकांश देशहरु कोरोना संक्रमणको चपेटामा पर्न थाले पछि ०७६ चैत्रमा सरकारले लकडाउनको घोषणा गरेको थियो । लकडाउन अवधिमै भारत लगायतका तेश्रो मुलुकबाट नेपाल फर्कनेको घुइचो लाग्यो ।
लकडाउन अवधिमै विदेशबाट फर्किएका १३ हजार ३ नेपाली रौतहटका विभिन्न क्वारेन्टीनमा बसेका थिए । उनीहरुको स्वाब संकलन गर्दै आइसोलेसनमा राख्ने काम गरि रहदा कोरोना संक्रमण क्वारेन्टीन सम्म मात्रै सिमित रहेको थियो । तर सरकारले साउनमा लकडाउन हटाए पछि संक्रमण पुनः फैलन थालेको छ । अहिले फैलिएको संक्रमण क्वारेन्टीन भन्दा बाहिरका व्यक्तीहरुमा देखिए पछि समुदाय जोखिममा परेको छ ।

साउन १७ सम्म रौतहटका विभिन्न पालिकाहरुमा खोलिएका झण्डै एक दर्जन आइसोलेसन बन्द भइसकेको थियो । ६ जनाको सँख्यामा रहेका संक्रमितलाई गरुडाको विर्ता र चन्द्रपुरमा राखिएको थियो ।
कसरी पस्यो समुदायमा कोरोना ?
नेपाल सरकारले लकडाउन खुकुलो बनाएर जनजीवन सामान्य बन्दै गर्दा स्थानिय प्रशासन, पालिका समेतले ठूलो भुल गरेका थिए । स्थानियले पनि मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छोडे पछि कोरोना संक्रमण भुसको आगो जस्तै सल्कीन थाल्यो ।
भारतसँग सिमा जोडिएको रौतहटको सदरमुकाम गौरमै भारतीयहरु सहजरुपमा आवतजावत गर्दा पनि प्रशासनले कुनै चासो दिएन । स्थानियले पटक पटक भारतीयहरुको आवतजावत रोक्न कदम चाल्न माँग गर्दा पनि स्थानिय पालिका र प्रशासनले नसुनेझै गरे । गौरको महादेवपट्टी, बेलबिछवा, राजपुर, बौधिमाई, राजदेवि लगायतका सिमाक्षेत्रका पालिकाहरुका स्थानियहरु भारत जाने र भारतीयहरु नेपाल आउने क्रमसँगै भारतको बिहारमा फैलिएको कोरोना रौतहट पस्यो ।
गौरकै बजारमा भारतीयहरु आएर पसल संचालन गर्ने र राति फेरी फर्किएर भारत जाने क्रम नरोकिदा संक्रमण सहजै समुदायमा पसेको ज्येष्ठ नागरिक सँघका अध्यक्ष विजय किशोर झाको दाबी छ । सरकारले बन्द राख्न भनेको सैलुन, मदिराका होटेल, ट्युसन सेन्टर तथा विद्यालय समेत संचालन हुदा प्रशासनले एक पटक पनि अनुगमन गर्न आवश्यक नठानेको उनले बताए । सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको चाँप बढेको बेला संक्रमण नियन्त्रणका लागी अपनाउनु पर्ने कुनै काम नै भएन ।

रुघाखोकी र श्वासप्रस्वासको समस्याका कारण बिरामी भएर उपचारको क्रममा गौरमा मृत्यु भएका इशनाथ नपा ५ का वडा अध्यक्ष देवेन्द्र ठाकुरको शवलाई समेत कोरोना परिक्षण नगरेरै अन्तीम सँस्कार गरिएको थियो । मृतक ठाकुरका परिवारका चारजना सदस्यमा कोरानो संक्रमण देखा परेको छ । कोरोना सँग मिल्दो लक्षणका कारण मृत्यु भएका व्यक्तिको समेत स्वाब परिक्षण बिना नै अन्तीम सँस्कार गर्न अनुमति दिदा प्रशासन चुकेको थियो ।
चैत्रबाट लगाइको लकडाउन खुलेको दुईहप्ता नवित्दै जिल्लामा कोरोना को संक्रमण समुदायमा फेलापर्न थालेपछि जिल्ला प्रशासनले साउन २४ देखी ३२ गते सम्म निषेधाज्ञा जारी गरेको छ । आइतवार सदरमुकाम गौरमा १५ र आज राजेदेवि नगरपालिकामा १९ नयाँ संक्रमित थपिएका छन । संक्रमितहरु तिव्र गतिमा बढन थाले पछि स्थानियमा त्राश उत्पन्न भएको छ ।
नेपाल भारत सिमानामा आवतजावत बढ्नु, बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनु, सचेतना नअपनाउनु, नियमन गर्ने निकायले प्रभाकारी काम नगर्नुले समुदाय स्तरमा नै कोरोना देखिएको र अब रौतहटमा झनै जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । बिना सुरक्षा मापदण्ड संचालन गरिएका पान पसल देखी होटल सम्म लागेको स्थानियको भिडले कोरोनालाई घरघरमा पु¥याएको उनको तर्क छ ।






