करेन्ट लागेर गुजरा नगरपालिकामा एक जनाको मृत्यु
२० मंसिर, रौतहट । करेन्ट लागेर रौतहटको गुजरा नगरपालिकामा एक युवकको मृत्यु भएको छ ।
रौतहटको गुजरा नगरपालिका वडा नम्बर ४ मा करेन्ट लागेर २५ वर्षीय मेघनाथ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युत मोटरबाट आफ्नै खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मदिरा सेवन गरी खेतमा मोटरबाट पानी पटाउने क्रममा मंगलबार साँझ नै करेन्ट लागेर उनी अचेत भएका थिए । घाइते चौधरीलाई उपचारको लागि तत्कालै घटनास्थलबाट उद्धार गरी उपचारको लागि कनकपुर अस्पतालमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शवलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






