माघ १५ पछि विद्यालय खोल्ने सरकारको निर्णय

   ५ माघ २०७८, बुधबार १२:३१  

५ माघ, रौतहट । माघ १५ गतेपछि ४ दिनका लागि विद्यालय खोल्ने सरकारले निर्णय गरेको छ ।

कोरोना विरुद्धको खोप अभियान चलाउनका लागि १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले ४ दिन विद्यालय खोल्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत सहभागि भएका थिए ।

गत पुस २५ गते सीसीएमसीसीले गरेको सिफारिस अनुसार माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको थियो ।