तीन दिनभित्र ‘क्यान’मा नयाँ प्रशिक्षक

   १६ मंसिर २०७८, बिहीबार १२:३७  

१६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सातजनाको अन्तर्वार्ता लिएको छ ।

मुख्य प्रशिक्षक छनोट समितिका सदस्य विनोद दासले सात प्रशिक्षकको अन्तर्वार्ता सकिएको र नेपाली क्रिकेट टोलीले तीन दिनभित्रमा नयाँ प्रशिक्षक पाउने बताए ।

“मुख्य प्रशिक्षका लागि सातजनाको अन्तर्वार्ता सकिएको छ । अब हामी प्रशिक्षकको माग र हाम्रो मागका विषयमा छलफल गर्नेछौँ । सबै कुरा सकिन तीन–चार दिन लाग्छ । त्यसपछि मात्र मुख्य प्रशिक्षकको टुंगो लाग्नेछ,” दासले भने ।

क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा मुख्य प्रशिक्षक छनोट समिति बनाएको थियो । क्यानले यसअघि नै अन्तर्वार्ता लिने भने पनि प्रशिक्षकको समय नमिलेका कारण बुधबार मात्र लिएको जनाएको छ ।

डेभ वाट्मोरले ओमान भ्रमणका क्रममा पदबाट राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन बनेको थियो । त्यसपछि क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० प्रशिक्षकले आवेदन दिएका थिए ।