जगदम्बाका ४ कर्मचारीमा कोरोना, कम्पनी सिल
इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतसहित चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कम्पनी सिल गरिएको छ । चार जनामध्ये कम्पनीमा कार्यरत एक भारतीय नागरिक पनि रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका चार जनालाई अस्पतालमा राखिएको र उद्योगमा कार्यरत दुई सय कर्मचारीको पीसीआर परीक्षण नगर्दासम्म उद्योगभित्रै राखिएको छ ।
प्रमुख कार्यकारी अधिकृतलाई ६ गते कोरोना संक्रमण पुष्टि भएको र कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्य तीन जनालाई पनि संक्रमण पुष्टि भएको उनले बताए । उद्योगभित्रै राखिएका दुई सय कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको पनि उनले बताए । “उद्योगभित्र दुई सय कर्मचारी कार्यरत रहेछन्, उनीहरुलाई अहिले उद्योगभित्रै राखिएको छ र पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ,” उनले भने । उनीहरुको पीसीआर परीक्षण नभएसम्म भित्रका कुनै पनि कर्मचारीलाई बाहिर र बाहिर रहेका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाइएको छ ।
भारतीय नागरिकबाट सरेको अनुमान
सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले उद्योगमा काम गर्ने एक जना भारतीय नागरिकबाट सरेको अनुमान गरिएको बताए । उक्त उद्योगसहित अन्य केही उद्योगहरुले पनि भारतबाट लुकाईछिपाई कर्मचारी ल्याएको गुनासो स्थानीयले गरेको आधारमा अन्य उद्योगमा कार्यरत कर्मचारीहरुको पनि परीक्षण गर्न लागिएको उनले बताए । “केही उद्योगले भारतबाट कर्मचारी लुकाईछिपाई ल्याएको पाइएको र उनीहरुकै कारण कोरोना संक्रमण भएको अनुमान गरिएको छ,” उनले भने, “उक्त क्षेत्रमा रहेका अन्य उद्योगहरुमा पनि परीक्षण गर्दै छौं ।”
प्रशासनले कन्ट्याक्ट ट्रेसिङ गरेर दुई सय कर्मचारीकै पीसीआर परीक्षण गराउन उद्योगलाई निर्देशन पनि दिएको छ । यो उद्योगले फलामको जीआई पाइप, टेबुल, पोल, छड, स्टिल ट्रसलगायत सामग्री उत्पादन गर्दै आएको छ ।






