नेपालकै एक नमूना बस्ती

   १६ भाद्र २०७८, बुधबार ११:३२  

१६ भदौ, रौतहट । एउटा गाउँका सबै व्यक्ति शाकाहारी छन भनेको सुन्दा तपाई हामीलाई अचम्म लाग्न सक्छ । तर नेपालकै एक नमूना गाँउ रौतहटमा छ ।

पुर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर बजार देखि करीव ७ किलोमिटर दक्षिणमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्वर ९ को नजरपुरमा वि.सं. २०२० सालमा देशका विभिन्न भाग बाट आएका स्थानियहरुले बस्ती बसाएका थिए । अहिले सो बस्तीमा करिव १०५ घर रहेको छ । उक्त बस्तीमा करिव १ हजार भन्दा बढि जनसंख्या रहेको छ ।

शाकाहारी जीवन र अहिंसा

कृष्ण प्रणामी धर्म मान्ने समुदायको बसोबास रहेको यो गाउँमा मदिरा सेवन वा बिक्रीवितरण गर्न, चुरोट, सुर्तीजन्य पदार्थ सुपाडी समेत सेवन गर्न पाइदैन । गाउँमा रहेका किराना पसलहरुमा मदिरा तथा सुर्तीजन्य पदार्थ चुरोट, गुठ्खा, सुर्ती केही पाइदैन ।

एउटै धर्म मान्ने समुदायका भएको हुनाले शाकाहारी गाँउ बनाउन खासै समस्या नभएको स्थानिय नवराज पहाडीले बताए । “माछा, मासु र मदिरा नपाउने भए पछि गाँउमा सेवन गर्ने कुरै भएन, अनी मदिरा नचल्ने भए पछि झैझगडाको कुरा पनि नहुने रहेछ ।” पहाडीले भने “हामी आफैले उब्जाएका तरकारी र खाद्यान्न प्राय प्रयोग गर्छौ ।”

शाकाहारी जीवनशैली मा चलेको यस गाँउका प्राय हरेक घरमा गाई र भैसी पालन गरिएको छ । दुग्ध उत्पादनका लागी रौतहट कै सबै भन्दा राम्रो क्षेत्र मानिएको नजरपुरमा दुुधका लागी सहकारी सँस्था समेत स्थापना गरिएको छ ।

गाई भैसीले दुध दिने भएकोले पालिएको स्थानिय बताउछन । तर खसी बोका वा हाँस कुखुरा पाल्दा मासुका लागी बेच्नु पर्ने र अन्तमा उनीहरुको वध हुने भएकोले आफूहरुले मासुजन्य पशुपंक्षी नपाल्ने गरेको स्थानिहरुले बताए ।

अहिलेको समाज मदिरामै शान गर्न खोज्छ । घरमा अतिथि आउँदा होस वा साथीभाई भेटदा रमाइलो गर्ने साधन बन्छ मदिरा । मदिरा र सूर्तिजन्य पदार्थको सेवन कै कारण कतिपयको घरवार बिग्रेको छ, कतिपय बर्बाद भएका छन र कतिपयले जीवन नै गुमाएका छन । तर रौतहटको नजरपुर नेपालकै एकमात्र यस्तो गाँउ होला जहाँ मदिरा वा सूर्तिजन्य पदार्थ को विक्रि वितरण हुदैन । स्थानियले गाउँको चारै तिर ठूलठूला बोर्ड झुण्डयाएर सुर्ती जन्य पदार्थ, मदिरा, पान, गुट्खा खान वा विक्री गर्न मनाही रहेको सुचनाहरु टाँसेका छन ।

अत्यन्तै शान्त एवं भद्र गाउँको पहिचान बोकेको नजरपुरका अधिकाश मानिसहरु कृषि पेशामा संलग्न रहेका छन् । यो गाँउ उन्नत जातको विऊ विजनको लागि नेपाल मै प्रख्यात रहेको छ । स्थानियले सहकारी संचालन गरेर बिउ समेत उत्पादन गर्दै आएका छन । यहाँ धान, गहु र मकैको बिउ उत्पादन गरी नेपालकै बिभिन्न जिल्लाहरु मा बिक्री गर्दै आएको स्थानिय दाता प्रसाद दहालले बताए ।

पूर्ण साक्षर र बालबालिका विद्यालय बाहिर नभएको गाँउ

शिक्षाको महत्व बुझेका यस गाँउका स्थानियले बालबालिका पठाउन गाँउमै विद्यालय स्थापना गरेका छन । स्थानियवासीहरुको विशेष पहलमा १८ बर्षअघि नै नजरपुरलाई पूर्ण साक्षरता गाउँ बनाइएको तथा अहिले सो गाउँमा कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेको समेत समाजसेवी पहाडीले जानकारी दिए ।

शिक्षा सूचांकमा रौतहट पुछारमा पर्छ तर त्यही रौतहटको एक गाँउ १८ वर्ष पहिले नै पूर्ण साक्षर भइ सकेको छ । शिक्षा बिना विकास सम्भव हुन नसक्ने भन्दै स्थानियले बालबालिकालाई नियमित विद्यालय पठाउने गर्दछन । गाँउका वृद्धहरुले समेत अक्षर चिन्न र हस्ताक्षर गर्न जानेका छन । ज्ञान सँगै चेतनाको पनि विकास हुने भएकोले सबैलाई शिक्षा अनिवार्य गरेका बताउछन गाँउलेहरु । वृद्ध भता थाप्न होस वा अन्य कुनै कागज बनाउन यहाँका कसैले पनि ल्याप्चे (औंठा) लगाउदैनन, आफ्नै नाम लेखेर हस्ताक्षर गर्छन ।

शिक्षा कै कारण गाँउका हरेक घरमा चर्पी बनाइएको छ । बाटोहरु सफा छन, घर वा बाटो छेउछाउ कसैले फोहर गर्दैनन । समुदाय एकजुट भएर अघि बढयो र सकारात्मक कामलाई अँगाल्यो भने विकास टाढा नरहने शन्देस पनि यस गाँउले दिन्छ ।

चार दशक देखी कुनै मुद्दा, उजुरी नपरेको गाँउ

“मदिरा ले नै अधिकांश झगडा गराउछ तथा माशाँहारी जीवले मान्छेलाई आक्रोशित बनाउछ र गाँउ नै दुव्यर्शन मुक्त, पुर्ण शाकाहारी भए पछि झै–झगडा हुने कुरै भएन ।” स्थानिय दाता प्रसाद दहाल ले भने “खेतआलीका झगडा वा सानातिना वादविवाद गाँउ घर मै भद्रभलादमी मिलेर सुल्झाउछन । अदालत वा प्रहरीमा जानु परेको छैन ।”

गाँउ स्थापना भए देखी नै कसैले पनि अदालतको ढोका नै टेकेका छैनन । गाँउघरमा अपराध, वादविवाद र झै–झगडा नै नभए पछि प्रहरीलाई पनि कुनै तनाव नै छैन । रौतहटको यो गाँउ बाट आपसी समझदारी र बन्धुत्वको भाव अन्य ठाँउहरुले पनि सिक्नु पर्ने आवश्यक्ता छ ।

गाँउको बिच भागमा निकै सुन्दर र भव्य कृष्ण मन्दीर रहेको छ । जहाँ स्थानियहरुले नियमित रुपमा पुजापाठ र भजन किर्तन गर्नै गर्छन । नजरपुर गाउँलाई अझै सुन्दर र व्यवस्थित बनाएर पर्यटन प्रवद्र्धनको रुपमा विकसित गराउन राज्यले उचित पहल गर्नुपर्ने आवश्यक्ता रहेको छ ।

धार्मीक पर्यटकीय क्षेत्रको रुपमा यस गाँउलाई विकास गर्न सके अन्य गाँउहरुले पनि धेरै कुरा सिक्ने श्रीकृष्ण प्रणमी मन्दिरका सन्त सुरेन्द्र शर्माले बताए । पश्चीमी समाजले पनि अहिले शाकाहारी जीवनमा जोड दिइ रहेको बेला नजरपुरमा होम स्टे लगायतका कार्यक्रमहरु ल्याएर आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकेमा गाँउको प्रचार प्रसार पनि हुन सक्ने र नजरपुरको जीवनशैली लाई अन्यले पनि अनुकरण गर्न सक्ने सँभावना रहेको छ ।

देशका अन्य गाउँ ठाँउहरु पनि नजरपुर जस्तै भईदिए भए सुन्दर, शान्त, अपराधमुक्त, पूर्ण साक्षर भई आम नेपालीको जिवनस्तर माथि उकास्न सजिलो हुने छ यस तर्फ राज्य एवं समाजसेवीहरु अग्रगामी कदम चाल्नु आवश्यक रहेको स्थानीय कृष्णप्रसाद अधिकारीले बताए ।