अवैध रुपमा ल्याएको मोबाइलसहित दुई जना पक्राउ

   २२ श्रावण २०७८, शुक्रबार १२:२८  

२२ साउन, रौतहट । अवैध रुपमा ल्याएको ७८ लाख मूल्य बराबरको मोबाइल सेटसहित दुई जनालाई नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ८ बस्ने अर्जुन ढकाल र भरतपुर २१ बस्ने इन्द्रलाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

गिरीका अनुसार इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको गस्ती टोलीले बिहीबार गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त मोबाइल फोनसहित दुई जनालाई हिरासदमा लिएको थियो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।