२०७७ को एसईई परीक्षाको नतिजा साउन भित्र प्रकाशन हुने
२० असार, रौतहट । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने भएको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउनभित्रमा नतिजा प्रकाशित गर्ने लक्ष्य लिएको जानकारी दिए।
परीक्षा नियन्त्रक अधिकारीले भने,‘अहिले विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्यांकन गरेको नम्बर पठाएका छन्,ती नम्बर यो महिनाको मसान्तसम्ममा बोर्डमा पठाउँछन्।’
उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने छ। ‘समयमा सबै आन्तरिक मूल्यांकनको नम्बर प्राप्त भएमा साउनभित्रमा नतिजा प्रकाशित हुन्छ,’अधिकारीले भने।
यस वर्षको मनसुन सक्रिय भएसँगै विभिन्न जिल्लामा बाढीपहिरो गएको छ। बाढी पहिरोबाट बाटो अवरोध भएकाले नम्बर फाइल पुर्याउन समस्या भएको परीक्षा नियन्त्रक अधिकारीले बताए।
उनले भने,‘केही विद्यालयले पहिरोका कारण समयमा समन्वय इकाइमा नम्बर पुर्याउन समस्या भएको जानकारी आएको छ,ती जिल्लाबाट नम्बर प्राप्त गर्न अलि समय लाग्ला।’
परीक्षा बोर्डका अनुसार ०७७ को एसईईमा ५ लाख १७ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने छ। गत जेठ १३ देखि भौतिक रुपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर दोस्रो लहरको कोभिड-१९ संक्रमण बढ्दै गएपछि गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भयो।
कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। कोभिडकै कारणले २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।






