इङ्ग्ल्याण्ड २५ वर्ष पछि युरो कपको सेमिफाइनलमा

   २० असार २०७८, आईतवार ०९:२०  

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा युक्रेनलाई हराउँदै इङ्ग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वफुटबलकै महारथी मानिने इङ्ग्ल्याण्डले युक्रेनमाथि ४-० को जित निकाल्दै २५ वर्षपछि पहिलो पटक युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

इटलीको रोमस्थित स्टेडियो ओलम्पिककोमा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले सुरुबाटै खेलमा दवाब बनाएको थियो। खेलको चौथो मिनेटमा रहिम स्ट्रलिङको पासमा गोल गर्दै कप्तान ह्यारी केनले अग्रता बनाए। त्यस्तै पहिलो हाफमा एक गोलले अघि इङ्ग्ल्याण्डका लागि ह्यारी म्यागुएरले ४६ औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यस्तै ५० औं मिनेटमा ह्यारी केनले अर्को गोल थपे। त्यस्तै खेलको ६३ औं मिनेटमा म्यासन माउन्टको पासमा जोर्डन हेण्डर्सनले गोल गर्दै इङ्ग्ल्याण्डको फराकिलो जित सुनिश्चित गरे ।

योसँगै जारी प्रतियोगितामा कुनै गोल नखाइ इङ्ग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । त्यसमा पनि १९९६ पछि पहिलो पटक युरोकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो ।

शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै त्यसअछि पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् ।

इटली र स्पेनबीचको खेल जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ ।

दुवै खेल राति १२ : ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् ।

दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।