विपतका बेला मेलम्चीका बाढी पिडितलाई कुमारी बैंकको सहयोग

   ६ असार २०७८, आईतवार १४:३८  

६ असार, रौतहट । केहीदिन यता लगातार भइरहेको अविरल वर्षाका कारण नेपालको विभिन्न जिल्लाहरुमा गएको बाढी–पहिरोले गर्दा घेरै जनधनको क्षति एवं विनाश भएको छ ।

यस्तो विपतमा आत्मबललाई उच्च राखी विपतसंग सामना गर्नु पर्ने अवस्था रहेको र विपतमा गरिने सानो सहयोगले पनि पीडितजनलाई ठुलो राहत हुने भएकोले कुमारी बैंक लि।ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित जन समुदायलाई सहयोग स्वरुप पीडितजन समुदायकालागि अस्थायी बसोबास गर्नका लागि टेन्ट, ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू सहयोग गरेको छ ।

विपतका बेला सहयोग गरेको राहत सामाग्री कुमारी बैंक लि।, मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेका छन् ।