हानिकारक स्यानिटाइजर उत्पादन गर्ने तीन कम्पनीमा छापा
९ जेठ, रौतहट । स्वास्थ्यका लागि हानिकारक हुने किसिमको स्यानिटाइजर उत्पादन गरेको आरोपमा ललितपुरको सातदोबाटो तथा काठमाडौंको त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले एकैपटक छापा मारेको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी नेतृत्वको टोलीले सातदोबाटोस्थित मुख्य कारखाना र अन्य दुईवटा शाखामा छापा मारेको महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जनाए ।
प्रारम्भिक अनुसन्धानमा कम्पनीले स्यानिटाइजर उत्पादनका लागि अनुमति पनि लिएको देखिएको छैन । ‘प्रयोगशालामा गरिएको परीक्षणबाट पनि बरामद स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि भएको खापुङले बताए ।
कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको थियो । कम्पनीमा कार्यरत केही व्यक्तिलाई नियनत्रणमा लिई यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






