रौतहटमा पुनः दोहरिदै कोरोना,

   ४ बैशाख २०७८, शनिबार १३:१६  

४ बैशाख, रौतहट ।कोरोनाको दोश्रो लहरले रौतहटमा पनि संक्रमण तिव्र बनाएको छ । पछिल्लो तिन दिनमै रौतहटमा संक्रमितको सँख्या १९ पुगेको छ ।
बिहिवार ३ जनामा संक्रमण पुष्टी भएकोमा हिजो शुक्रवार एकैदिन कोविड १९ का ६ नयाँ संक्रमित फेला परेको थिए । आज पनि १० जनामा संक्रमण पुष्टी भए पछि रौतहटमा कोरोना संक्रमितको सँख्या १९ पुगेको छ । संक्रमित हुनेसबै अहिले घरमै क्वारेन्टीनमा बसेका छन ।

आज संक्रमित हुने मध्ये ५ जना गरुडा, २ जना देवाही गोनाही नगरपालिकाका छन भने कटहरीया, गढीमाई र सर्लाही रामनगरका १–१ जना रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

होम आइसोलेसन कतिको सुरक्षित ?

पहिलो चरणको कोरोनाको प्रभाव कम भए पछि स्थानियले पनि मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छोडेका छन । स्वास्थ्य सम्बन्धी सावधानीहरु नअपनाउदा संक्रमणको जोखिम उच्च छ ।

भारतसँग सिमा जोडिएको रौतहटमा भारतीय सहरबाट दैनिक रुपमा रौतहट भित्रिने स्थानियको सघन स्वास्थ्य परिक्षण हुन सकेको छैन । कोरोना संक्रमित भएका व्यक्तिहरुलाई हाल घरमै क्वारेन्टीनमा राखिए पनि उनीहरुका परिवारका अन्य सदस्यहरुको निगरानी वा संक्रमितको प्रत्येक दिनको अवश्थाका बारेमा जानकारी लिने कुनै व्यवस्था छैन । संक्रमित रहेको परिवारजनको एउटा सानो लापरवाहीले पनि पुरै समुदायनै जोखिममा पर्ने खतरा छ ।

जिल्ला प्रशासन कार्यालयले प्रत्येक पालिकाहरुलाई क्वारेन्टीनको व्यवस्था गर्न भने पनि हाल सम्म ठोस प्रगति हुन सकेको छैन । केही नाकाहरुमा अस्थ्यी हेल्थ डेस्कको स्थापना भए पनि खुल्ला सिमानाका कारण संक्रमितलाई रोक्ने ठूलो चुनौती रहेको छ ।

संक्रमण बढे पनि रोकिएन भिडभाड

कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने उपायका बारेमा जानकारी भए पनि स्थानियले त्यसलाई पालन गरेका छैनन । संक्रमण रोक्न मास्कको प्रयोग तथा भौतिक दूरीको बारेमा स्थानियले वेवास्ता गरि रहेका छन ।

यता सचेतना फैलाउनु पर्ने राजनितिक दल, सँस्था, सरोकारवाला निकाय तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रमहरु गर्न छोडेका छैनन । शिलान्यास, उदघाटन तथा राजनितिक कार्यक्रमको भिडभाडले संक्रमणको जोखिमलाई निम्त्याइ रहेको छ ।

तिव्र संक्रमणका बिच बैशाख ८ गते जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको कार्यक्रम राखिएको छ भने अन्य राजनितिक दल तथा स्थानिय पालिकाहरुले समेत चरणबद्धरुपमा कार्यक्रमहरु गरिरहदा समेत स्थानिय प्रशासनले रोक लगाउन सकेको छैन ।