इँटा भट्टीमा खस्दाँ दुई जना घाइते, एकको अवस्था गम्भीर

   ३ चैत्र २०७७, मंगलवार १२:१५  

 

३ चैत, रौतहट । केबी इँटा उद्योगको इँटा भट्टामा जलेर दुई जना घाइते भएका छन् ।

वीरगञ्ज ३१ बेल्वामा रहेको केबी इँटा उद्योगको भट्टामा जलेर ५० वर्षीय कलिम मियाँ र एक भारतीय कामदार कलेशकुमार घाइते भएको प्रहरीले जनाएको छ ।

दुई जना घाइते भएमध्ये एक जनाको अवस्था गमभीर रहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इँटा पोल्ने चिम्नीमा खसेर दुवै जना घाइते भएका हुन् ।

घाइते भएका उनीहरुलाई गण्डकस्थित नारायणी वयोधा अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जनाएका छन् ।

उद्योगका लेखापाल मजरे आलमले दिएका जानकारी अनुसार उद्योगको निरीक्षणमा गएको समयमा कामदार भट्टीमा खस्न लागेको देखेपछि मियाँ जोगाउन गएका थिए । तर, उनी स्वयं पनि चिप्लेर भट्टीमा खस्दाँ गम्भीर घाइते भएका छन् ।