२०४७ को संविधान पुनस्थापनाको माँग गर्दै प्रदर्शन
२ पौष, रौतहट । २०४७ सालको संविधानको पुनस्थापनाको माग गर्दैै रौतहटको मध्य बजार गरुडा प्रर्दशन भएको छ ।
राष्ट्रिय प्रजातान्त्रीक गठबन्धन (एनडिए)ले २०४७ को संविधान हाम्रो अभियान कार्यक्रम अन्र्तगत रौतहटको गरुडामा बृहत आमसभा गरेको हो । राजतन्त्रको पक्षमा देशै भरी प्रर्दशन भइरहेको बेला गरुडामा हिन्दु राष्ट्र तथा यस अघिको संविधानलाई पुनः स्थापित गर्नु पर्ने माँग उठेको हो ।
गरुडाको श्रीराम सुगर मिल्समा आयोजित सभामा अभियानका संयोजक किशोरी महतोले दलहरुले राजा र देश दुवैलाई धोका दिएको आरोप लगाए । दलहरुका कारण देशमा अस्थीरता र विखण्डनको अवश्था आएको बताउदै संयोजक महतोले देशलाई जोगाउन राजा अपरिहार्य भएको बताए । नेपाली–नेपाली बिचको एकतालाई बिगार्दै दलहरुले पहाडी, मधेशी र हिमाली मात्रै होइन विभिन्न जात र धर्ममा बाडेकोउनको तर्क थियो ।
रामपुकार पासवानको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै संयोजक महतोले देशका हरेक जनताले अब राजाको महत्व महशुस गरेको बताए । “जनताको लागी भनेर राजाले दरबार छोडेर गए । तर देश विकास हुनुको सट्टा झनै खराब अवश्थामा गएको छ ।” उनले भने “दलहरु भ्रष्टाचारमा लिप्त भएका छन । कुर्सीको लडाईमा अल्झेर आफ्ना आसेपासे र नातागोताका लागी मात्रै नेताहरुले काम गरेका छन ।” देशभरी नै अभियानका रुपमा राजाको पक्षमा जनता जागेकोले अब छिट्टै नेपालमा पुनः राजा सर्वोच्च कार्यकारी स्थानमा रहने उनको दाबी थियो ।
कार्यक्रममा सहसंयोजक विक्रम बहादुर बम, रौतहट संयोजक शैलेन्द सिंह लगायतका वक्ताहरुले राजा र हिन्दु राष्ट्रको आवश्यक्ताका बारेमा आफ्ना धारणा राखेका थिए । पछिल्लो समय रौतहट लगायत देशका विभिन्न भागहरुमा राजावादीहरुले दैनिकजसो ¥याली, जुलुश प्रर्दशन गर्ने गरेका छन ।