श्रीराम सुगर मिल्सका गोल्छा समेत तिनजना विरुद्ध पक्राउ पूर्जी जारी
२ पौष, रौतहट । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका संचालक सहित तिनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका संचालक माथि बुधवार ठगी मुद्दा दायर गराएका थिए । ४६ जना उँखु किसानहरुले सँयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराए पछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका संचालक सहित तिन जनाको विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, संचालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको सुरक्षा श्रोतले जानकारी दिएको छ । पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागी आवश्यक समन्वय भइरहेको प्रहरी श्रोतको दाबी छ ।

पक्राउ पूर्जी जारी भएका तिनै जनाले किसानको बाँकी बक्यौता फर्छौैट नगरी मिल बन्द गरेर किसानलाई ठगेको आरोप किसान संघले लागाएको छ । मिलले आर्थिक वर्ष ७१।७२ को १२ करोड, ७५।७६ को २८ करोड ५० लाख र ७६।७७ को ५० लाख रुपैया गरी ४१ करोड रुपैंया बाँकी उँखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले बताए । जाहेरवाला समेत रहेका यादवले मिलले आफुहरुको रकम मास्ने उदेश्यका साथ बिना कुनै पूर्व जानकरी साउन ११ गते उद्योग सदाका लागी बन्द भएको सूचना टाँस गरेर मिल संचालकहरु सम्पर्क विहिन भएको आरोप लगाएका छन ।
गृह मन्त्रालयले यस अघिनै बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिल सञ्चालक विरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र जिल्लास्थित प्रशासन कार्यालयलाई निर्देशन दिइ सकेको छ ।






