नेपालमा थप ७३६ जनामा कोरोना पुष्टि, ८४७ जना संक्रमणमुक्त

   १ पुष २०७७, बुधबार १६:४०  

१ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस बिफ्रिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा थप ५ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ३६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ९ हजार ७ सय ५७ रहेको डा. गौतमले जानकारी दिए ।

त्यस्तै, विगत २४ घण्टामा थप ८ सय ४७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको छ ।

यसैबीच, कोरोना सक्रमणका कारण बितेको २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म देशभर कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ४३ पुगेको डा. गौतमले जनाए ।

नेपालमा हालसम्म १८ लाख ४९ हजार १ सय ३६ जनाको पिसिआर परीक्षण भएको डा. गौतमले बताए ।