अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात थुनामा

   २८ मंसिर २०७७, आईतवार २०:५४  

२८ मंसिर, रौतहट । विशेष अदालतले बालुवाटारको ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाएको छ। आइतबार अदालतमा उपस्थित भएका बस्न्यातलाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको हो।

अध्यक्ष प्रेमराज कार्की तथा सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाएको हो।
यसअघि अधिकांश आरोपितलाई अदालतले धरौटी तथा साधरण तारेखमा रिहा गरेको थियो। विशेषमा केही समयअघि न्यायाधीश हेरफेर भएको थियो।

ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

बस्न्यात अख्तियारको आयुक्त हुनुअघि तत्कालिन  समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।

अख्तियारले उनी सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।

बस्न्यातविरुद्ध अख्तियारले  ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो। फर्जी मोही खडा गरेर ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको अभियोग अख्तियारको छ।