राजपुर बमकाण्ड
२८ मंसिर, रौतहट । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली काग्रेंसका नेता आफताब आलमका भाई महताब आलमलाई पुर्पक्षको लागी कारागार चलान गरिएको छ ।
२०६४ चैत्र २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको आरोपमा जिल्ला अदालतले आज आदेश सुनाएको हो ।
आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिन वटा मुद्दा दायर गरिएको थियो । आलम माथि लगाइएका तिन मुद्दामा आज थुनछेक बहस समाप्त भए पछि जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलाशले महताबलाई कारागार पठाउने आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयबाट अदालतमा पेश गरीएका मिशिललाई तत्काल प्रमाण रुपमा लिदै प्रतिवादी महताब आलम बेकसुर हुन भन्ने नदेखिएको हुनाले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागी कारागार पठाउनु भन्ने अदालतको आदेश भएको हो । कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई पर्न सक्ने प्रतिकुल प्रभावका आधारमा उनलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।
अदालतको आदेशअनुसार महताबलाई आजै जिल्ला कारागार रौतहट चलान गरिएको छ । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित अन्य घाइतेहरुलाई जिउदै इटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं. २ का सासंद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेकोमा जिल्ला अदालत रौतहटले २०७६ कार्तिक २९ मा उनलाई पुर्पक्षका लागी कारागार पठाएको थियो ।