पोखरामा उपचाररत दुई जनाको कोरोनाका कारण मृत्यु
२८ मंसिर, रौतहट । पोखरामा थप दुई जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृतयु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका २ बस्ने ६० वर्षीय पुरुष र पोखरा महानगरपालिका १७ बस्ने ७४ वर्षीया महिला रहेकी गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएकी हुन् ।
तनहुँका ६० वर्षीय पुरुषका स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । यही मंसिर २४ गते अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा आज बिहान करिब ९ः३० बजेको समयमा मृत्यु भएको डा. शर्माले बताए । डा. शर्माका अनुसार उनी क्रोनिक लिभर डिजिजबाटसमेत पीडित थिए ।
यस्तै, पोखराकी ७४ वर्षीया महिलामा यही मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारकै क्रममा शनिबार राति करिब ८ः४० बजेको समयमा संक्रमित वृद्ध महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।






