मौलापुर नगरपालिकाको भवन उद्घाटन

   २६ मंसिर २०७७, शुक्रबार १६:४७  

२६ मंसिर, रौतहट। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री प्रभु साहले मौलापुरस्थित एकीकृत सरकारी भवनको उद्घाटन गरेका छन् ।

शुक्रवार एक औपचारिक कार्यक्रमका बीच रौतहट क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका पूर्वमन्त्री साहले नगरपालिका भवनको उद्घाटन गरेका हुन् । नेता साह स्वयम् सहरी विकास मन्त्री रहेको बेला २०७४ सालमा शिलान्यास गरेको उक्त भवन आज तीन वर्ष पछि आफैले उद्घाटन गरेका हुन् ।

वीरगन्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ६ करोड ५० लाखको लागतमा उक्त भवन निर्माण गरेको हो । कार्यालय, आवास, सभाहललगायतका विशेषतासहित बनेको उक्त भवनले नयाँ सहरको रुपमा उदय हुँदै गरेको मौलापुरमा एउटा विशाल पूर्वाधारको रुपमा तयार भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले शहरी पूर्वाधार निर्माण तथा विस्तारको अभियानले सार्थकता पाइरहेको जीकिर गरे । मौलापुर मात्र नभई सिंगो देशमै सहरी पूर्वाधारको रुपमा सडक, नाला, भवन लगायतका संरचना निर्माण भईरहेको बताए । उनले उक्त एकीकृत सरकारी भवनले मौलापुरमा देखिएको भवन पूर्वाधारको समस्या हल गर्न सघाउने बताए ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, उपप्रमुख गौरीशंकर जयसवाललगायतको उपस्थिति रहेको थियो ।