दरबन्दी अनुसारको अधिकृत नहुदा रौतहटका पालिकामा भ्रस्टाचार मौलायो

   २५ मंसिर २०७७, बिहीबार १३:५४  

२५ मंसिर, रौतहट । नेपाल सरकारले स्थानिय तहमा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव र गाँउपालिकाको हकमा शाखा अधिकृतका दरबन्दीको व्यवस्था गरे पनि रौतहटका स्थानियतहरुमा भने तल्लो तहका कर्मचारीहरु निमित प्रमुखको रुपमा काम गरिरहेका छन ।

रौतहटका १८ स्थानिय तह मध्ये गौर नगरपालिकामा मात्रै दरबन्दी अनुसार उपसचिवले काम गर्न पाएका छन । बाँकी रहेको रौतहटका १६ नगरपालिका र २ गाँउपालिकामा दरबन्दी अनुसारको कर्मचारी छैनन । संघिय मन्त्रालयले खटाएका प्रशासनिक अनुभब भएकालाइ जीम्मेवारी दिदा नीती, नीयम, ऐन, कानुन बढी झेल्नुपर्ने भन्दै रौतहटका जनप्रतिनिधीहरुले आफु अनुकुलका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकिय अधिकृत भन्दै हाकिम बनाउने गरेका छन ।

दरबन्दी अनुसारको कर्मचारी सरुवा भएर आउदा उनीहरुलाई हाजिर हुनै नदिने र तल्लो तहका कर्मचारीहरु निमित प्रमुख प्रशासकिय अधिकृत बनेर रजाई गर्ने प्रवृतिले रौतहटको स्थानिय तहमा भ्रष्टाचार चरम सिमामा पुगेको छ । केहीदिन अघि चन्द्रपुर नपा, गरुडा नपा तथा यमुनामाइ गाउपालिकामा सरुवा भइआएका प्रमुख प्रशासकिय अधिकृत हाजिर नै हुन पाएनन । गरुडा नपामा सरुवा भइ आएका अधिकृतलाई हाजिर हुन नदिएर जनप्रतिनिधिले आफु अनुकुल हुने खानेपानीका ईन्जिनियरलाई निमित्त हाकिम बनाए ।

रौतहटको गरुडा नपामा खानेपानीका ईन्जिनियर मुस्ताक आलम, बृन्दाबन नपामा ईन्जिनियर नागेन्द्र यादब, चन्द्रपुरमा शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देल, राजदेबी नपामा ईन्जिनियर सुबोध साह, गढिमाईमा स्थानिय तहका नागेन्द्र साह, गुजरा नपामा स्वास्थ्यका नन्देश्वर चौधरी, फतुवा बिजयपुर नपामा स्वास्थ्यकर्मी प्रमोद कुमार गुप्ता, बौद्धिमाई नपामा स्थानीय तहका रामईश्वर राय, मौलापुरमा रामबाबु साह, राजपुर नपामा स्थानीय तहका बैजु ठाकुर, कटहरीयामा लेखा अधिकृत रामप्रकाश साह, देबाही गोनाही नपामा स्थानीय तहका राजदेब रामले प्रशासकिय अधिकृतको जिम्मेबारी थामेर बसेका छन ।

यसैगरी ईशनाथमा रामजी जोशी, माधवनारायणमा प्रलव कायस्थ र परोहाका हाकिम पनि शाखा अधिकृत हुन । रौतहटका दुई गाँउपलिका दुर्गाभगवति र यमुनामाईमा पनि शाखा अधिकृतको सट्टा नायब सुब्बा समसाद आलम र जगत प्रसाद साहले निमित्तको जिम्मा पाएका छन ।

रौतहटका २ गाउपालिका र १६ नगरपालिका मध्ये अधिकास तहमा ईन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीयतहका कर्मचारीलाइ प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी दिइएको छ । अधिकांश स्थानियतहमा प्रशासन तर्फका कर्मचारीहरुले प्रशासकिय अधिकृतको जीम्मेवारी पाएका छैनन ।

रौतहटमा मेयर, उपमेयर, वडाअध्यक्षका अनुकुलका कर्मचारी लाइ प्रमुख प्रशासकिय अधिकृत बनाउने चलन नै बसेको सरुवा भएर जाने धेरै अधिकृतले बताउने गरेका छन ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा हुना साथनै स्थानीय तहका जनप्रतिनिधिहरु काठमाण्डौं दौडधुपमा व्यस्त हुन्छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारेर जनप्रतिनिधि र निमित्त प्रमुखहरुले सरुवा भएका कर्मचारीको सट्टा आफ्नै अनुकुलको कर्मचारीको थमौती गराउने गर्दछन ।