कोरोना संक्रमणका कारण बाँकेमा थप दुई जनाले ज्यान गुमाए

   २२ मंसिर २०७७, सोमबार १४:०९  

२२ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण बाँकेमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा कैलालीका एक जना र बर्दियाका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।

कञ्चनपुरको शुक्लाफाँटा ४ बस्ने ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा आज दिउँसो करिब १ः४५ बजेको समयमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि, सेत अस्पतालमा यही मंसिर १२ गते पीसीआर परीक्षण गराउँदा उनका मंसिर १३ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

संक्रमण भएपछि, स्वास्थ्यमा थप समस्या आएपछि उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

यस्तै, बर्दियाको गेरुवा गाउँपालिका ५ बस्ने ७२ वर्षीय पुरुषको आइतबार गएराति करिब १ः१० बजेको समयमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १३ गते पीसीआर परीक्षण गराउँदा मंसिर १४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।