कोरोना संक्रमणबाट थप तीन जनाले ज्यान गुमाए
२१ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पोखरामा थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा पोखराका २ जना र लमजुङका एक जना रहेका हुन् ।
पोखरा १७ छोरेपाटन बस्ने ६६ वर्षीया महिलाको पोखराको मणिपाल शिक्षण अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । यही मंसिर १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वासप्रस्वासको समस्या रहेकी ती महिलाको आज बिहान ५ बजेर २० मिनेटमा अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै लमजुङ बेँसीशहर नगरपालिका ११ का ४३ वर्षीया महिलाको पनि मणिपाल शिक्षण अस्पतालमै शनिवार राति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ९ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । उनलाई सुगरको समस्या रहेको थियो ।
यस्तै, पोखरा १७ निवासी ३४ वर्षीय पुरुषको पनि पोखराको चरक मोमोरियल अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ७ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६९ पुगेको छ ।