सन्तपुर मेला बन्द गराउने प्रशासनको निर्णय
२१ मंसिर, रौतहट । रौतहटको सन्तपुरमा हिजो शनिवार बाट शुरु भएको समाचकेवा मेला बन्द हुने भएको छ ।
थारु समुदायले साँस्कृतिक पर्वका रुपमा कार्तिक पूर्णीमाका दिन रौतहटको चन्द्रपुर ८ सन्तपुरमा लगाउदै आएको सो उत्सव यस वर्ष ढिलो शुरु भएको थियो । चन्द्रपुर नगरपालिकाले मेला लगाउन अनुमति दिए पनि मेलाको नाममा मदिरा र जुवाजन्य क्रियाकलाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले मेला स्थगन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले पत्र मार्फत चन्द्रपुर नगरपालिकालाई सो मेला स्थगन गर्न जानकारी गराएको छ । “मंसिर १८ देखि २८ गते सम्मका लागी चन्द्रपुर नगरपालिकाले मेलामा शान्ति सुरक्षा मिलाइ दिन अनुरोध गरेको थियो ।” प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले भने “सो उत्सवमा अत्याधिक भिडभाड भएको र मेला सम्बन्धमा विभिन्न माध्यमबाट गुनासो आएकोले सो उत्सव स्थगन गरिएको हो ।”

थारुको नाममा मदिराको व्यापार भएको भन्दै स्थानिय थारु समुदायले समेत सो मेलाको विरोध गरेका थिए । विगतमा मेला लगाउदै आएको समितिसँग सल्लाह नै नगरेर निर्धारित समय भन्दा पछाडी मेला लगाएको उनीहरुको विरोध रहेको छ । तराई मधेशमा कार्तिक पूर्णीमाका दिन समाचकेवा नदीमा सेलाए पछि सन्तपुरको सो मेला शुरु हुने प्रचलन रहेको थियो ।
सन्तपुरमा सार्वजनिक सामाजिक विकास समितिको जग्गामा लगाइने सो मेलालाई कार्तिकेश कुवँर मेला तथा समाचकेवा महोत्व भनिने गरिएको सिमितिका उपाध्यक्ष विनोद चौधरीले बताए । “कार्तिक पूर्णीमा बाट शुरु हुने मेला यस वर्ष कोरोना संक्रमणका कारण नहुने भनिएको थियो ।” सार्वजनिक सामाजिक विकास समितिका अपाध्यक्ष चौधरीले भने “फेरी केही व्यक्तिहरुले अचानक जिल्ला प्रशासनको अनुमति ल्याएर मेला लगाए । हाम्रो मौलिकता भन्दा पनि केही व्यक्तिले आर्थिक लाभका कारण विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर मेला शुरु गराएका थिए ।”
जिल्ला प्रशासन कार्यालय रौतहटले मेला स्थगन गरेको प्रति चौधरीले संतुष्टी जनाएका छन ।






