बुटवलमा प्रहरीकै पेस्तोल खोसी प्रहरीमाथि नै तस्करले चलाए गोली

   २१ मंसिर २०७७, आईतवार ०६:३१  

२१ मंसिर, रौतहट । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ शुक्रनगरस्थित होटल कलसमा तस्करहरुको टोलीले प्रहरीकै पेस्तोल खोसी प्रहरीमाथि नै गोली चलाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिन पुगेको सादा पोशाकका प्रहरीसँग रहेको पेस्तोल खोसी तस्कर समूहका एक जनाले प्रहरी माथि नै गोली प्रहार गरेका हो ।

उनले चलाएको गोली प्रहरीलाई नलागी तस्कर समूहका अर्का एक जनालाई लागेको छ । गोली लागेर घाइते भएका राकेश न्यौपानेको अवस्था गमभीर रहेको जिलला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घाइते भएको न्यौपानेलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । तर, स्वास्थ्य अवस्था गम्भीर भएका कारण उनलाई थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा रेफर गरिएको प्रहरीले जनाए ।

प्रहरीका अनुसार घाइतेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकाहरुमा भक्तबहादुर थापा र कर्णबहादुर राउत छन् । गोली चलाउने व्यक्ति फरार रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।