कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
२१ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा धरानका एक जना र सुर्खेतका एक जना रहेका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाको विर्तामोड ८ घर भएकी ४५ वर्षीया महिलाको गएराति करिब १२ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जानकारी दिए ।
स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा यही मंसिर १९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएकै दिन उनलाई उपचारक लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनमा मुटुसम्बन्धी समस्यासमेत रहेको अस्पतालले जनाएको छ ।
यस्तै, सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा पञ्चपुरी नगरपालिका–६, निवासी ५३ वर्षीय पुरूषको कोरोना संक्रमणका कारण शनिबार राति करिब ८ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
मंसिर ९ गते कोरोना पुष्टि भएका ती पुरूष होम आइसोलेशनमा बस्दै आएका अधिकृत कँडेलले बताए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कर्णाली प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।
प्रोटोकल अनुसारका सबै उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २० पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।