तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

   २० मंसिर २०७७, शनिबार ०६:१२  

२० मंसिर, रौतहट । सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ बस्ने वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै वडाबासीले प्रहरीमा बहुविवाहको जाहेरी दिएपछि पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए ।

प्रहरीले वडाध्यक्ष कुमाई र उनले बिहे गरेकी ग्वामी विष्टलाई समेत प्रहरीले शुक्रवार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको हो ।
कुमाईका यसअघि नै दुई श्रीमती छन् । उनीहरुबाट चार जना छोराछोरी पनि छन् ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।