बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

   २० मंसिर २०७७, शनिबार ०५:१५  

२० मंसिर, रौतहट । बाँकेमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा बर्दियाका एक जना र दाङका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।

बर्दिया गुलरिया नगरपालिका ७ का ७२ वर्षीय पुरुषको गयराती २ः१५ बजे मृत्यु भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेले जनाए । बर्दियाका संक्रमित मंसिर ११ देखि नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत थिए ।

उनलाई प्लाज्मा, रेम्डिीशिबिर, अक्सिजन लगातको बिधिबाट उपचार गर्ने क्रममा मृत्यु भएको डीसीसीएमसी बाँके एवं स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै, दाङ तुलसीपुर उपमहानगरपालिका १८ का ७० वर्षीय पुरुषको पनि आज बिहान ६ः४५ बजे मृत्यु भएको छ । तुलसीपुर १८ का संक्रमित मंसिर १५ देखि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भई उपचाररत थिए ।

उनलाई पनि प्लाज्मा, रेम्डिशिबिर सहितको उपचार बिधि अपनाईएको तर, बचाउन नसकिएको श्रेष्ठले बताए ।