फेसबुकमा मात्रै खुल्यो सिमा,

   १९ मंसिर २०७७, शुक्रबार १२:०१  

१९ मंसिर, रौतहट । सहज रुपमा भारत जान नपाए पछि कार्तिक २७ गतेका दिन स्थानियले गौर भन्सार क्षेत्रमा प्रदर्शन गरेका थिए । लामो समय सम्म सिमा बन्द हुदा व्यहोर्नु परेको पीडा र त्यसमाथि पनि चाडबाडका मुखमा अत्यावश्यक सामाग्री खरिद गर्नका लागी कष्टप्रद बाटो अपनाउनु परेकोमा स्थानियमा आक्रोश थियो ।

स्थानियले स्वतस्फूर्त रुपमा भन्सारमा सिमानाका खोल्न प्रदर्शन गरेको भोलि पल्ट २८ कार्तिकमा नागरिक समाजको अगुवाईमा विभिन्न राजनितिक दलका नेता, सँघसँस्थाका प्रतिनिधि समेतले ११ मंसिर सम्म धर्ना कार्यक्रम गरेका थिए ।

कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमानामा भएको प्रर्दशन पछि ११ मंसिरमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई भारत सँग सिमा जोडिएका मुख्य नाकाहरुबाट पैदल आवतजावत संचालनको अनुमति दिन निर्देशन दिए पछि बन्द रहेको सिमा नाका नेपाल तर्फ खुल्यो तर भारतीय पक्षबाट भने नाका अझै पनि बन्द रहेको छ ।

नेपाल तर्फको नाका खुल्दा धर्नामा भएका अगुवाहरुले फुलमाला र विजयोत्सव मनाउदा स्थानियलाई पनि अब सिमा सहज हुने आश जागेको थियो । तर नेपाल तर्फको सिमा खोलिएको एक साता बितिसक्दा पनि स्थानियहरु बैकल्पीक बाटो प्रयोग गरेर आवतजावत गर्न बाध्य छन । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नाकामा आवतजावत गर्नेको व्यक्तिहरुको अभिलेख राख्दै पैदल यात्रुको लागी मात्रै नाका खोलिएको बताए पनि भारतीय पक्षको अवरोधका कारण उनले भने जस्तो पैदल यात्रा पनि सहज भएको छैन ।

पैदल यात्रा, विवाहका गाडी तथा बिरामी बोकेको एम्बुलेन्सलाई अनुमति दिए भारतीय पक्ष बाट अझै रोक कायम रहेको छ । नेपाल तर्फको सिमा खोलिए पनि भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले भने भारतीय सिमामा आवगमन संचालन हुन दिएको छैन । भारतीय पक्षले सिमा नाका संचालनका बारेमा आफुहरुलाई हाल सम्म कुनै जानकारी नआएकोले सरकारको निर्देशन नआए सम्म संचालनमा रोक कायम रहेको बताएको छ ।

कोरोना संक्रमणका कारण झण्डै ९ महिना देखि बन्द रहेको नाका भारतले नखोल्दा स्थानियहरु सिमावर्ति क्षेत्रका बैकल्पीक बाटो प्रयोग गर्न बाध्य छन । नेपाल तर्फको नाका खुलेको जानकारी पाएको भारतले भने सिमाक्षेत्रमा अवरोध हटाउन कुनै चासो दिएको छैन । भारतीय पक्षबाट नाका नखुल्दा सम्म एक पक्षले मात्रै नाका खोल्नुको कुनै अर्थ नभएको स्थानियले बताएका छन ।

“फेसबुकमा फोटो खिचाउन र टिभि पत्रिकामा नाम देखाउन नेताहरुले धर्ना गरेर नाका खुलाएको भन्दै फुलको माला लगाए तर नाका खै खुलेको ?” गौरका स्थानिय विनोद साहले भने “नाका खुलेको भनेर प्रचार गरेकाहरुले अझै पनि स्थानियको मर्का बुझेका छैनन । सरकारी स्तरबाट भारतलाई नाका खुलाउन पहल हुन आवश्यक छ ।” दुवै तर्फको नाका नखुले सम्म दुवैतर्फको जनजिवन सामान्य नहुने उनले बताए ।