सुरक्षानिकायकै मिलेमतोमा रौतहटमा तस्करीको ‘लाइन’

   १७ मंसिर २०८२, मंगलवार १४:४४  

१६ मंसिर, रौतहट । जिल्लाका विभिन्न सीमावर्ती नाकामा अवैध गतिविधि बढदै गए पछि रौतहटको सीमा प्रशासन र निगरानी संयन्त्र नै पुनःसमिक्षा गर्नुपर्ने आवश्यकता तीव्र रूपमा उठ्न थालेको छ ।

स्थानीय प्रशासन देखी प्रदेशस्तरकै सुरक्षा संरचनाको समन्वय कमजोर बन्दै जाँदा रौतहटमा अवैध कारोबार र तस्करीको गतिविधिहरू बढेको छ ।

रौतहटको इशनाथ नगरपालिकाको महुलिया, बन्जरहा, चमारटोल, परोहा नगरपालिकाको नरकटिया र बौधिमाइ नगरपालिकाको बंकुल नाकाबाट अहिले खुलेयाम रुपमा तस्करी भइ रहेको छ । सिमा क्षेत्र बाट हुने राजश्व चुहावट नियन्त्रणको लागि नेपाल सरकारले खटाएका सशस्त्र प्रहरीले छुट दिएपछी रौतहटमा व्यापक तस्करी भइरहेको छ । सुरक्षानिकायका प्रमुखहरुले राजपुरका खुर्सैद आलम, रइस मिया र चन्द्रनिगाहपुरका सुनिल जयसवाल लगायतका व्यक्तिहरुलाई तस्करीको लाइन नै दिएका छन ।

स्थानीय बासिन्दाहरूका अनुसार नाकामा तैनाथ सुरक्षा निकायले सामान्य नागरिकलाई कडा निगरानीमा राखे पनि राति हुने अवैध तस्करीलाई प्रसय दिएका छन । “घर खर्चका लागी ल्याएको किराना सामान हाम्रो झोलासम्म चेक गर्छन्, तर राति गाडी र मोटरसाइकलमा तस्करीका् सामान नाकाबाट पस्छ,” एक स्थानीयले भने । यसले सुरक्षा निकायप्रति विश्वास घट्दै गएको संकेत समेत गरेकोे छ ।

गौरको मुख्य नाका हुँदै भित्रिने सामान भन्सार रोडका निजी घरमा थुपारिनु र त्यहाँबाट जिल्लाभर वितरण हुनु, प्रभावकारी अनुगमन अभावको परिणाम भएको रहको छ । यसले स्थानीय अर्थतन्त्रमा ‘अनौपचारिक सप्लाई चेन’ तयार भइरहेको छ, जसले वैध व्यवसायलाई समेत प्रतिस्पर्धाको दबाबमा पारेको व्यापारीहरू बताउँछन ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीका चौकी इन्चार्ज देखी जिल्लाका एसपी समेतलाई मासिक रकम नजराना बुझाएर तस्करहरुले कारोबार शुरु गरेका छन । प्रस्तावित गुल्म गौर भन्सारका डिएसपी र गौर भन्सार सुरक्षा चौकीका इन्चार्जको मिलेमतोमा रौतहटको मुख्य नाका गौर भन्सारबाट समेत तस्करी जारी रहेको छ । गौरमा रहेका सशस्त्र प्रहरीका डिएसपीकै संलग्नतामा केही युवकले भारतमा थुप्रिएका लाखौं नेपाली रकमहरु अवैध तरिकाले दैनिक भित्राइरहेका छन ।

स्थानीय स्रोतका अनुसार तस्करीमा संलग्न समूहहरूले तल्लो तहका सुरक्षाकर्मीदेखि उच्च अधिकारीसम्म मासिक रकम वितरण गर्ने गरेको आरोप बाहिरिएको छ । सुरक्षा अधिकारीहरूले भने सबै आरोप र दाबी अस्वीकार गर्दै “हामी तस्करी रोक्न खटिएका छौँ” भन्ने औपचारिक प्रतिक्रिया दिएका छन ।

रौतहटमा बढ्दो तस्करीकाले निर्वाचनको संवेदनशीलता संगै सीमा सुरक्षा र प्रशासनिक संयन्त्रको गम्भीर कमजोरी उजागर गरेको छ ।