बारामा हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु
२४ कार्तिक, रौतहट । बारामा हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। निजगढ–पथलैया सडकखण्डमा रातिदेखि देखापरेको हात्तीको झुण्डले मच्चाएको आतंकका कारण सडक यातायात समेत प्रभावित बनेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले आज बिहान हात्तीको आक्रमणमा परेर एक पुरुषको मृत्यु भएको पुष्टि गरे। मृतकको नाम–ठेगाना भने अहिलेसम्म खुलाइएको छैन।
पसाह खोला आसपासको जंगलबाट बाहिर आएको हात्तीको झुण्डले रातभर सडक क्षेत्रमा सवारी साधनमा धक्का–मुक्का र क्षति पुर्याएको स्थानीयहरूले बताएका छन्। बिहान पुनः ती हात्तीहरू सडक छेउमा देखिएपछि यात्रा गर्ने सर्वसाधारणमा त्रास फैलिएको थियो ।
घटनापछि निजगढ–पथलैया सडकखण्डमा केही समयका लागि सवारी आवागमन रोकिएको थियो।






