गौरको बरहवा नदीमा युवकको शव फेला
२४ कार्तिक, रौतहट । रौतहटको गौर नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ ।
गौर नगरपालिका वडा नं. ५ मा रहेको बरहवा नदीमा डुबेको अवश्थामा २० वर्षिय युवकको शव फेला परेको हो । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा उनी रौतहटको चन्द्रपुर नगरपालिका ६ का सुनिल कुमार कहार रहेको पुष्टी भएको छ ।
चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको र उनका आफन्तजनहरु सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदिप बस्यालले बताए ।
पोष्टमार्टम रिपोर्ट पछि मात्रै घटनाका बारेमा थप कुराहरु खुल्ने डिएसपी बस्यालले बताए ।






