छठ पर्वको तेश्रो दिन, आज अस्ताउदो सूर्यलाई अर्घ दिइदै
१० कार्तिक, रौतहट । लोकआश्थाको महापर्व छठको आज तेश्रो तथा मुख्य दिन व्रतालुहरु भक्तिभावका साथ साझ अस्ताउदो सूर्यलाई अर्घ दिने तयारी गर्दैछन । छठ मिथिला तथा तराईवासीहरुको सबै भन्दा ठूलो र पवित्र पर्व हो ।
परीवारका सम्पूर्ण सदस्यहरुको सहभागीता रहने यस पर्वमा हरेक सदस्यले शुद्धता तथा पवित्रता प्रति विशेष ध्यान दिने गर्छन । निकै कडा धार्मिक नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धताको निकै ध्यान दिने गरिन्छ ।
छठ पूजाको लागी जिल्लाभरीका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी श्रृङ्गारीएको छ । झिलीमिली बतिले श्रृगारिएका छठ घाटहरु यति खेर व्रतालु तथा दर्शनार्थीहरुको लागी तयार छन । यीनै छठ घाटहरुमा आज व्रतालुहरुले अस्ताउदो सूर्यलाई पहिलो अर्घ दिने छन ।
संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वको आज तेश्रो दिन सूर्य भक्तिमा लिन भएर पूजाआजा गर्दै साझ अस्ताउदो सूर्यलाई पहिलो अर्घ दिइने छ भने भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ दिए पछि विधिपूर्वक यो पर्व सकिनेछ ।
३६ घण्टा लामो निर्जल व्रत शुरु
हिजो बेलुका छठ ब्रतालुहरुले खरना पुजा सम्पन्न गरेका छन । पूजा पछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु भइसकेको छ । हिजो बेलुका पूजा पश्चात खाएको प्रसाद को भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब सोमवार बिहान सूर्यलाई अर्घ दिएपछि मात्र अन्न जल ग्रहण गर्नेछन ।
लगातार ३६ घण्टा सम्म निर्जल र निराहार भएर गरिने यो व्रत तराईवासीले निकै आश्था र श्रद्धा पूर्वक मनाउने गर्छन । नदी, पोखरी तथा जलाशयको किनारमा पूजा गर्दै भोलि सोमवार बिहान उदाउदो सूर्यलाई अर्घ दिएर घर फर्केपछि मात्र व्रत समाप्त हुनेछ ।
तराईमा सबै भन्दा बढी श्रद्धा भक्तिका साथ मनाइने भएको ले यो पर्वलाई महापर्व पनि भनिन्छ । छठ व्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ती हुने र परीवारमा सुख शान्ती छाउने विश्वास रही आएको छ ।
रौतहट जिल्लाको सदरमुकाम गौर लगायत गंगा पिप्रा, शिवनगर, गरुडा, कटहरीया तथा चन्द्रनिगाहपुरका लाखौं व्रतालुहरुले भक्तिभावका साथ आज अस्ताउदो सूर्यलाई अर्घ दिनेछन ।






